Tuesday 11 October 2016

रमेश तामाङले चार दिन भित्रमा दुइवटा रेस जिते।

चार दिन भित्रमा दुइवटा रेस जिते।
रमेश तामाङ
कालिम्पोङ


म रमेश तामाङ, पुर्व समलबोङ खासमल, कालिम्पोङ निवासी श्री हेम कुमार तामाङको छोरा, तपाईहरु समक्ष मेरो म्याराथनको अनुभव बाडन लागिरहेको छु। सर्वप्रथम म ‘रन विथ रोशनी फाउण्डेसन’ लाई धन्यबाद दिन चाहान्छु किनभने यहि फाउण्डेसन द्वारा मैले २०१२ देखि थुप्रै म्याराथनहरुमा भाग लिने मौकाहरु पाइरहेको छु। मैले कालिम्पोङको SUMI SCHOOL देखि बाह्रौ श्रेणी उतिर्ण गरे पश्चात हाल प्रथम बर्ष BPed (Bachelors in Physical Education) , Lakshmibai National Institute of Physical Education (LNIPE), Guwahati मा अध्यानरत छु।

आज म माहाराष्ट्रको सतारा जिल्लामा हुने म्याराथन अनि इन्टर युनिभर्सीटि रेस जुन चाहि ग्वालियरमा सम्पन्न भएको थियो, यी दुइ रेसहरुको अनुभव बारे लेख्न गइरहेको छु। यस बर्ष सतारा हिल म्याराथन १८ सितम्बर २०१६ मा भएको थियो अनि त्यसमा मैले पनि भाग लिने मौका पाएको थिए। २४ अप्रेल २०१६ मा, ‘रन विथ रोशनी फाउण्डेसनले’ टिमको अनुभवी रनरहरुको निम्ति एउटा हाफ म्याराथन कालिम्पोङ देखि पेदोङ सम्म आयोजना गरेको थियो।

यस म्याराथनको मुख्य उदेश्य थियो, टिमबाट दुइजना रनरहरुलाई सतारा हिल म्याराथनको निम्ति चयन गर्नु। मैले त्यस म्याराथन १ घण्टा २१ मिनटमा पुरा गरी प्रथम हुन सकेको थिए भने, उत्तम भुजेल दोस्रो भएको थियो। त्यस पछि हामी दुइलाई ‘रन विथ रोशनी फाउण्डेसनको’ संस्थापिका रोशनी राई दिदीले सतारा हिल म्याराथनको निम्ति चयन गर्नु भयो। हामीलाई सतारा हिल म्याराथनको निम्ति श्री प्रकाश वाणीले (ACP Mumbai Police Retd.) sponsor गर्नु भएको थियो। उहालाई म आन्तरीक ह्रदयबाट धन्यबाद दिन चाहान्छु।

८ सितम्बर २०१६को दिन, म युनिभर्सिटीको एउटा दौडमा पनि प्रथम भएर, आफ्नो युनिभर्सिटीलाई ग्वालियरमा हुने दौडमा प्रतिनिधित्व गर्नु पर्ने भयो। भाग्यवंश मैले युनिभर्सिटीको DEAN लाई धेरै दिन अघि नै सतारा हिल म्याराथनमा भाग लिन जानको निम्ति छुट्टी मागी राखेको थिए। १४ सितम्बरको दिन उत्तम भाईसित NJP बाट ट्रेनमा चढि, १६ सितम्बरको दिन हामी मुम्बई पुग्यौ। रोशनी दिदी धेरै ब्यस्त भएको कारण हामीलाई लिन स्टेसन आउनु भ्याउनु भएन। उहाले फोनबाट नै कसरी लोकल ट्रेनमा चढी बेलापुर भन्ने ठाउ जानु भनि सिकाउनु भयो। दिदीसित हाम्रो बेलापुर स्टेसनमा नै भेट भयो। दिदीले हामीलाई एक रात बस्नको निम्ति नायर हस्टेलमा बन्दोबस्त गरिदिनु भएको रहेछ। भोलि पल्ट १७ सितम्बर २०१६ को बिहानै अरु मुम्बईका रनरहरुसित बसमा चढि सतारा तिर लाग्यौ। अप्रान्ह २;३० बजे हामी म्याराथन Expo पुग्यौ अनि हाम्रो Running bib थाप्यौ। हामी बस्ने होटेल पुग्दा बेलुकीको ६ बजिसकेको थियो। हामी बेलुकीको खाना खाएर छिट्टै आराम गरयौ। १८ सिलम्बर २०१६ को बिहान हामी ४;३० बजे उठेर ब्रेकफास्ट खानु गयौ। त्यस पछि १० मिनट हिडेर हामी म्याराथन शुरु हुने ठाऊमा गयौ। म्याराथन ठिक ६ बजे शुरु भयो। मैले यस म्याराथनलाई हल्कासित गर्ने अठोट गरेको थिए कारण दुइदिन पछि मैले युनिभर्सिटीलाई प्रतिनिधित्व गरेर अर्को दौडमा पनि भाग लिनु थियो। म injury हुनबाट बाच्न चाहान्थे। ४ किलोमिटर सम्म म elite रनरहरुसित नै कुदिरहेको थिए। त्यस पछि बिस्तारै मैले मेरो रफ्तार कम्ती गरे। १०.५ किलोमिटर उक्कालो कुदे पछि u turn लिएर फेरि ओरालो कुदनु पर्ने थियो। मलाई एकदम रमाईलो लागीरहेको थियो। ओरालिमा मैले एक दुईजना रनरहरुलाई जिते।१८ किलोमिटर पुगे पछि म इण्डियन क्याटागोरिको चौथो स्थानमा छु भन्ने थाहा भयो। मैले रफ्तार बडाए अनि एउटा रनरलाई जितेर अघि निसके। मैले यो म्याराथन १ धण्टा २३ मिनटमा पुरा गरेर इण्डियन क्याटागोरिमा तेस्रो भए। उत्तम भाई दोस्रो स्थानमा आएछ। एकछिन थकाई मेटाएर म हटेल गई मोबाइल लिएर आए अनि रोशनी दिदीलाई फोन गरे। दिदीले २ घण्टा ३० मिनटमा म्याराथन सक्नु भएछ। उत्तम भाई दोस्रो अनि म तेस्रो भएको खबर सुनेर दिदी पुरा खुशी हुनु भयो।

हामीलाई sponsorगर्नु हुने प्रकाश वाणी सरसित पनि हाम्रो भेट भयो। उहा पनि हाम्रो परिणाम सुनेर धेरै खुशी हुनु भयो। केहि क्षण पश्चात पारितोषिक बितरणको निम्ति सबै बिजय भएका रनरहरुलाई सटेजमा बोलाइयो, तर मलाई बोलाइएन्न्। मेरो बदली तिनीहरुले चौथो हुने ब्यक्तिलाई स्टेजमा बोलाए। हामी सबै छक्क परयौ। रोशनी दिदीले म्याराथन आयोजकहरुसित भेटने कोशिश पनि गर्नु भयो तर बेसि भिड भएको कारण हामीले भेटन् सकेनौ। मलाई धेरै दुःख लाग्यो तर दिदीले पछिबाट परिणामको सहि खोजि गरिदिनु हुने आसवासन दिनु भयो। म ढुक्क भए।

उत्तम भाईलाई चाहि दोस्रो स्थानको पारितोषिक ग्रहण गर्न उनिहरुले स्टेजमा बोलाएका थिए। पारितोषिक बितरणको कार्यक्रम सके पछि हामी होटेल गएर नुहाइ धुवाई गरयौ। त्यस पछि तयार भएर रोशनी दिदीलाई बिदा मागे अनि मेरो आफ्नो पर्ने नानालाई (दिदी) भेट्न पुणे तिर लागे। मैले सतारा हिल म्याराथनबाट धेरै अनुभव बटुले अनि धेरै कुराहरु पनि सिकने मौका पाए। तेस्रो स्थानको पारितोषिक मलाई नदिएकोमा पुरा बिस्वाद लागिरहेको थियो। यसता कुराहरु जीवनमा भई नै रहन्छ भनी आफैले आफैलाई शान्ताउना दिए।

साझपखं पुणे पुगे। नानाले मलाई नै पर्खिरहनु भएको रहेछ। पुणेबाट मैले युनिभर्सिटीको सरलाई फोन गर्दा युनिभर्सिटीको गेम ग्वालियरमा २० सितम्बरमा नभएर २१ सिनम्बरमा हुने थाहा पाए। म यस गेमको निम्ति चयन भई सकेकोले गर्दा सरले मलाई भोलि पल्ट नै ग्वालीयर आउनु भन्नु भयो। बेलुकी नानासित दिल्ली जाने सल्लाह भयो। नानाले २० सिनम्बर २०१६को ८बजे बेलुकी पुणेबाट दिल्ली जाने फ्लाइटको टिकट काटिदिनु भयो।

दिल्ली एयरपोर्टबाट Lakshmibai National Institute of Physical Education (LNIPE), ग्वालियर जो चाहि मेरो मुख्य युनिभर्सीटि हो, त्यहा जानको निम्ति नानाले नै एउटा गाडी ओनलाइन बुकिंङ गरिदिनु भएको थियो। रातिको १०;३० बजे म दिल्ली एयरपोर्ट पुगे। समानहरु निकालेर बाहिर निस्कदा ११;३० बजि सकेको थियो। मलाई गाडीले पर्खिरहेको थियो। LNIPE ग्वालियर पुग्दा बिहानको ५ बजिसकेको थियो। ड्राईबरले गाडीको मिटर हेरेर रु ७१००/- (रुपियाँ सात हजार एक सय) भाडा भयो भन्यो। म त अरकच्च परें। मैले त भाडा बेसी भन्दा बेसी भयो भने रु ४०००/- (रुपियाँ चार हजार) हुन्छ होला भनी सोचेको थिए। धन्न् मेरोमा भाडा तिर्न पुग्ने पैसा रहेछ।

रिमरिम उज्यालो हुदै थियो। मेरो LNIPE ग्वाहाटिको परिचय पत्र हेरे पछि सेक्युरिटी गार्डले गेट खोलिदियो। युनिभर्सीटि भित्र पसेर सरलाई फोन गरे तर सरले फोन उठाउनु भएन्। के गरौ के गरौ भए।सेक्युरिटी गार्डले मलाई रेस शुरु हुन आटयो भनि बतायो अनि उसले हस्टेल जाने बाटो बताइदियो। हस्टेल गएर लुगा फेरे अनि रेस शुरू हुने ठाउमा गए। भारतभरि भएको Lakshmibai National Institute of Physical Education को क्रस कन्ट्ररी रेस सलेक्सन शुरु हुन् १५ मिनट मात्र बाकी थियो। म रात भरि सुतेको थिइन्। फलाइटमा पहिलो चोटि चढेको थिए, निन्द्रा के लाग्थ्यो। गाडीमा ड्राइबरलाई पनि निन्द्रा लाग्छ भनेर मलाई सुतनु नै नदिने। रातिको बाटो नयाँ जग्गा कतै केहि हुन्छ कि भन्ने मलाई डर पनि लागी रहेको थियो।

६;३० मा रेस शुरु भयो। १२ किलोमिटर कुदनु पर्ने थियो। रात भरि नसुति यात्रा गरेकोले मेरो शरीर थाकेकै भए पनि मलाई भित्र मनबाट नै अलग किसिमको आत्माबिशवास आइ रहेको थियो। मैले हल्का सित रनिङको रफतार बडाउदै गए। अरु रनरहरुलाई जित्दै जादा आफै छक्क पनि पर्दै थिए। मलाई चम्तकार भएको जस्तै म्हसूस भइरहेको थियो। १२ किलोमिटर, मैले ४२ मिनट ५६ सेकेण्डका पुरा गरेर, प्रथम भए

रेस पछि नुहाएर, खाजा खाए अनि रोशनी दिदीलाई फोन गरि खुशिको खबर सुनाए। दिदीले पनि मलाई दुईवटा खबरहरू दिनु भयो। पहिलो त सतारा हिल म्याराथनको अनलाइन परिणाममा मेरो नाम नै तेस्रो स्थानमा प्राकाशित भएको अनि अर्को चाहि दिदीले चायना माउन्टेन म्यराथनमा भाग लिन जानको निम्ति विसा पाउनु भएछ। मलाई एकदम खुशी लाग्यो।
हामीलाई सतारा हिल हाफ म्याराथनमा भाग लिन sponsor गर्नु भएकोमा फेरि पनि म प्रकाश वाणी सरलाई धन्यबाद दिन चहान्छु। अन्तमा रोशनी दिदीले हामीलाई यति सुनौलो मौकाहरु दिनु भएकोमा मुरी मुरी धन्यबाद। भविष्यको दिनहरुमा पनि तपाईको आर्शीबाद अनि मायाहरु पाई रहनेछु भनि आशा गर्दछु।
मैले ग्वालियरमा प्रथम भएर, बंगलोरमा हुने अर्को क्रस कन्ट्ररी रेसमा जाने मौका पाए। २८ अक्टोबर २०१६ को बंगलोरमा भएको क्रस कन्ट्ररी रेसमा भारत भरिको दिग्गज रनरहरु आएका थिए। मेरो पोजिसन नआए पनि मैले धेरै कुराहरु सिक्न पाए।

नोट;- रमेशले Lakshmibai National Institute of Physical Education (LNIPE), Guwahati एडमीशनको बेला १००० मिटर रेस २ मिनट ४३ सेकेण्डमा पुरा गरेर LNIPE, Guwahati को १० बर्षको रेकर्ड तोडेका छन्। रमेशको आर्थीक अवश्था त्यति बलियो छैन तर उसको हिम्मत धेरै छन्। रमेशले २९ मई २०१६मा रनिङ एण्ड लिभिङले आयोजन गरेको सिक्किम म्याराथनमा दोस्रो स्थान ओगटी रु ५००००/- (पचास हजार) नगद पुरष्कार जितेका थिए। उनले त्यही पैसाले LNIPE, Guwahati मा एडमीसन लिएका हुन। रमेशले नगद पुरष्कारहरु भएका म्याराथनहरु जितेर पुरा गर्ने भनि सोचेका थिए तर बाहिरका म्याराथनहरुमा भाग लिन युनिभर्सीटिबात छुट्टी मिलाउन मुशकिल पर्ने जस्तो देखिन्दैछ।

त्यसैकारण ‘रन विथ रोशनी फाउण्डेसनले’ रमेशको पढाइको निम्ति फण्ड उठाएर साहयता गर्ने निधो गरेका छन्। ‘रन विथ रोशनी फाउण्डेसन’ एउटा पंचिकृत ट्रस्ट हो, जसले डोनरहरूलाई 80G अथवा इन्कम टयाक्स एकसम्सन सर्टिफिकेट पनि दिन सक्छन। रमेशलाई साहयता गर्न इच्छुक महानुभावहरुले ‘रन विथ रोशनी फाउण्डेसनलाई’ runwithroshni@gmail.com मा इमेल लेखि सम्पर्क गर्नु सकनु हुनेछ.

No comments:

Post a Comment